दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा विगत ३ महिनादेखि भिडियो एक्सरे, बाल रोग तथा प्रसुति रोगसंग सम्बन्धीत सेवाहरु अबरुद्ध भएका छन् । दक्ष जनशक्तिको अभावमा अस्पतालले उक्त सेवाहरु प्रदान गर्न सकिरहेको छैन् । अस्पतालमा उपचार गर्न आउने अधिकांश विरामी सामान्य उपचार गर्दै निजी अस्पताल धाउनुपर्ने बाध्यता सिर्जना भएका छ ।
अस्पतालमा उपचार गर्न आएकी मोहनी थापा भिडियो एक्सरे सेवा नरहेपछि सामान्य उपचार गरेर निजि अस्पताल जानुपर्ने बाध्यता रहेको बताईन् । अस्पतालमा रोग अनुसारको डाक्टर अभाव हुदाँ राम्रो सेवा र सुविधा पाउन नसकेको उनको भनाई छ ।
घर नजिकै राष्ट्रिय स्तरको अस्पताल रहे पनि नाम मात्रैको अस्पतालको रुपमा स्थापित भएको स्थानीय कल्पना रानाले बताईन् । उनका अनुसार सामान्य उपचार बाहेक केही भएमा उपचारको लागि पोखरा नै जानुपर्ने समस्या रहेको बताईन् ।
अस्पतालको तथ्यङ्क हेर्ने हो भने विगत ३ महिनादेखि अस्पतालमा आउने विरामीको संख्या क्रमशः ओरालो लागेको छ । भिडियो एक्सरे सेवा सुचारु गर्न नसक्दा विभिन्न रोगको उपचार गर्न समस्या रहेको अस्पताल प्रशासनले पनि स्विकार गरेको छ । तर, पनि प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न भने सकिरहेको छैन् । अस्पतालमा भिडियो एक्सरे, बाल रोग तथा प्रसुति रोगसंग सम्बन्धीत कर्मचारी करारको रहेको हुदाँ समस्या सिर्जना भएको अस्पतालका कार्यकारी निर्देशक राम कुमार श्रेष्ठले बताए ।
वि सं.२०७३ सालमा सेतीगंगा सामुदायिक अस्पताल, जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास केन्द्रलाई हस्तान्तरण गरिएको थियो । राष्ट्रिय स्तारको स्वास प्रश्वाससंग सम्बन्धीत सेवा विस्तार गर्ने उद्देश्यले स्थापित अस्पतालले सामान्य स्वास्थ संस्थाले प्रदान गर्ने सेवा भन्दा अरु सञ्चालन गर्न सकिरहेको छैन् ।