काठमाडौं । समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ। प्राप्त मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँड गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले बुधबार दलहरूलाई आजसम्मको समय दिएको हो।
दलहरूलाई भने समानुपातिकबाट सांसदको नाम चयन गर्न सकस परेको छ। प्रत्यक्षबाट चुनाव जितेका महिलाको संख्या न्यून भएपछि समानुपातिकबाट प्रतिनिधिसभामा अधिकांश महिला लैजानुपर्ने भएकाले दलहरू दबाबमा परेका हुन्। नाम टुंगो लगाउन उनीहरू शनिबार नै आन्तरिक छलफलमा जुट्दैछन्।
समानुपातिकबाट ३२ सिट पाएको कांग्रेसले २९ जना महिला अनिवार्य पठाउनुपर्ने भएकाले ३ मात्रै पुरुष छान्नुपर्ने छ। तर दलित, मधेशी, आदिवासी, मुस्लिम, खसआर्य र थारु गरी ६ वटा क्लस्टरको एक नम्बरमा केन्द्रीय नेता नै रहेकाले कसलाई प्रतिनिधिसभामा लैजाने भन्ने निर्णय गर्न कांग्रेसलाई सकस भएको छ।
३४ सिट पाएको एमालेले पनि समानुपातिकको नाम टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ। एमालेले १९ जना महिला र १५ पुरुष पठाउन सक्ने भए पनि अन्तिम निर्णय गरिसकेको छैन।
नेकपा माओवादी केन्द्रले समानुपातिकमा पाएको १४ उम्मेदवार छनोट गर्न शनिबार पदाधिकारी बैठक बोलाएको छ। शुक्रबारको बैठक निष्कर्षमा पुग्न नसकेपछि फेरि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ। १४ मध्ये १२ महिला प्रतिनिधिसभामा अनिवार्य पठाउनुपर्ने भएपछि दुई पुरुषमा कुन क्लस्टरबाट प्रतिनिधित्व गराउने भन्नेमा माओवादीलाई सकस परेको छ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी र सात सिट पाएको राप्रपाले पनि आज पार्टीको आधिकारिक बैठकबाट निर्वाचित हुनेको नाम टुंगो लगाउने तयारी गरेका छन्। थाहाखबर