दुलेगौंडा । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारको काम कछुवाको गतिमा छ । ढिला सुस्ति गरेर काम हुदाँ राजमार्गमा रहेको धुलो र हिलोले दैनिकी सवारी दुर्घटनाको जोखिम पनि बढेको छ । तीन बर्षभित्र सडक विस्तारको काम सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजना, एक बर्ष बितिसक्दासम्म ४.२५ प्रतिशत मात्रै प्रगति भएको छ । यही गतिले काम हुने हो भने निर्माण अवधि सकिँदासम्ममा १२.७५ प्रतिशत मात्र काम हुने देखिएको छ ।
एसियाली विकास बैक (एडिबि)को ऋण सहयोगमा ८६.८५ किलोमिटरको सडक दुई भागमा विभाजन गरि विस्तार कार्य शुरु भएको हो । तर एक बर्ष बितिसक्दा पनि ४१.८५ किलोमिटरको आबुखैरेनी–जामुन पूर्वी खण्डमा ६.८ प्रतिशत र ४५ किलोमिटरको जामुने–पोखरा पश्चिम खण्डमा १.५ प्रतिशत मात्र कार्य प्रगति भएको छ । जहाँ पूर्वी खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेड र पश्चिम खण्ड निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले जिम्मा लिइएको छ । यद्यपी सडक विस्तारको कामले अझैसम्म पनि गति लिन सकेको छैन ।
घाम लाग्दा उड्ने धुलो र पानी पर्दा हुने हिलोका कारण सडकमा धेरै दुर्घटना हुने गरेको थर्पुका स्थानीय अर्जुन खनालले बताए । उनले समयमा नै काम सम्पन्न गराउन सम्बन्धीत निकायले चासो र तत्र्पता देखाउनुपर्ने बताए ।
निर्माण पक्षले ठाउँ–ठाउँमा काम शुरु गर्ने र अलपत्र रुपमा छाड्ने प्रवृत्तिले समयमै काम सम्पन्न हुनेमा शंका उब्जिएको अकलाका स्थानीय कृष्णमाया घर्तिले बताईन् ।
यता आयोजना निर्देशनालय तोकिएकै समयवधिमा काम सम्पन्न हुनेमा आफै विश्वस्त हुन सकेको छैन् । निर्माण व्यवसायीहरुले तोकिएकै अवधिमा काम सम्पन्न गर्ने आश्वासन दिएपनि सम्भावना नदेखिएको निर्देशनालयका प्रमुख सुशीलबाबु ढकालले बताए ।