दुलेगौंडा । शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दुलेगौंडाले विद्यार्थीका लागि न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व तथा शैक्षिक कार्यक्रम अन्र्तगत रहेर सहकारीले सोमबार शहीद कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत १४० विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो ।
जाडोमा न्यानो कपडाको अभावले गर्दा विद्यालयसम्म आउन नसक्ने अवस्था सिर्जना नहोस भनेर न्यानो कपडा वितरण गरेको सहकारीका अध्यक्ष शरद श्रेष्ठले बताए । ‘कतिपय विद्यार्थीहरु जाडोको समयमा न्यानो कपडा नपाएर विद्यालय नजाने गरेको हुन्छ । शैक्षिक सामग्री नहुदाँ विद्यालय नआउने हुन्छ । यस समस्या सिर्जना नहोस र दैनिक पठनपाठनमा सहज होस भन्ने हेतुले स्विटर र शैक्षिक सामग्री वितरण गरेका हौं’ उनले भने ।
सहकारीका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारी, विद्यालयका प्रधानध्यापक राजनप्रसाद खनाल, सहकारीका प्रबन्धक प्रकाश न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।