दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ दुलेगौंडा–खैरेनी सिटीले रक्तदान कार्यक्रमबाट १४० प्रिन्ट रगत संकलन गरेको छ । क्षेत्रीय रक्तसञ्चार पोखराको प्राविधिक सहयोगमा लायन्सले रक्तदान कार्यक्रम गरेको हो ।
अस्पतालमा हुने रगत अभावलाई कम गर्न क्लबले रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष टिकाराम श्रेष्ठले बताए । ‘अस्पतालमा रगत अभाव भएर अकालमै ज्यान गुमाउनुपर्ने समस्यालाई समाधान गर्न हामीले रक्तदान कार्यक्रम गरेका हौं’ उनले भने । क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम गरेको बताए ।
क्लबका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर एवम् क्लबका पूर्व अध्यक्ष कृष्णराज पण्डित, क्षेत्रीय रक्तसञ्चार पोखराका वरिष्ठ प्राविधिक मोहन केसी, लायन्स कृष्णप्रसाद पौडेल, मोतिप्रसाद पौडेल, मिनबहादुर लामिछाने, कञ्चन सेन्चुरी लगायतको उपस्थिती रहेको थियो ।