दुलेगौंडा । नेपालीहरुको महान पर्व तिहार सुरु भईसकेको छ । तिहारसंगै बजारमा सयपत्री र मखमली फूलको माग पनि बढीरहेको छ । यता फूलखेती गर्ने किसानलाई भने फूल टिप्न, माल बनाउन र बजार सम्म पु¥याउन भ्याई नभ्याइ छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ डहरेकी मञ्जु श्रेष्ठ विहान उठेदेखी बेलुकीसम्म फूलबारीमा नै व्यस्त छिन् । गत बर्ष सानो क्षेत्रफलमा फूलखेती गरेकी श्रेष्ठले यसबर्ष ठुलो परिणममा फूल उत्पादन गरेकी छिन् । श्रेष्ठले यस बर्ष फूलखेतीबाट एक लाख रुपौयाँ भन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएकी छिन् ।
यता भिमाद नगरपालिका–८ भागरका युवाहरुले पनि सामुहिक रुपमा फूलखेती गरेका छन् । बजारमा फूलको मुल्य र माग राम्रो रहेको हुदाँ समुहले नै स्टल राखेर फूल बेचिरहेको समुहका अंकित थापा मगरले बताए ।
पछिल्लो समय फूलखेतितर्फ कृषकहरु आकर्षित हुन थालेका छन् । स्थानीय तह र सम्बन्धीत निकायले फूलखेती गर्ने किसानलाई प्रोत्साहन गर्न सके बाहिरी मुलुकबाट फूलको आयातलाई कम गर्न सकिन्छ ।