दुलेगौंडा । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य सुरु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका परिसरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख विश्व प्रकाश अर्याल,जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मी, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्याय लगायतको उपस्थितीमा कार्यालय स्थापना गरिएको हो ।
तनहुँ क्षेत्र नम्बर २ ‘क’ र ‘ख’ मा एक लाख २५ हजार ५ जना मतदाता, ७३ मतदान स्थल र १५३ मतदान केन्द्र रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उपाध्यायले बताए । उनका अनुसार क्षेत्रनम्ब २ ‘क’ मा ६७ हजार ३२ मतदाता, ३७ मतदान स्थल र ८० मतदान केन्द्र रहेको छ भने क्षेत्रनम्ब २ ‘ख’ मा ५७ हजार ९७३ मतदाता, ३६ मतदान स्थल र ७३ मतदान केन्द्र रहेको छ ।
निर्वाचनको लागि असोज २३ गते मनोनयन पत्र दर्ता सुरु हुने छ । निर्वाचन अधिकृत उपाध्यायका अनुसार मनोनयन पत्र दर्ता गर्दा नगरिकताको प्रमाण पत्रको प्रतिलिपि, प्रस्तावक र समर्थकको फोटो सहितको मतदाता परिचयपत्रको प्रतिलिपि, धरौटी रकम जम्मा गरेको नगद रसिद, सम्पत्ति विवरण, वैयक्तिक विवरण लगायतका विवरणहरु आवश्यक पर्ने छ ।