दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले बजार अनुगमनको क्रममा जफत गरेको म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरेको छ । सोमबार नगरपालिका परिसरभित्र खाल्डो खनेर उक्त जफत गरिएका खाद्य सामग्री नष्ट गरिएको हो ।
नगरपालिकाले ६ गतेदेखि १० गतेसम्म चडपर्व लक्षित बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा प्रायःजसो म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । बजारमा म्याद गुज्रिएका सामग्री कम गर्न उपभोक्ता नै सचेत हुन आवश्यक रहेको लम्सालले बताए । ‘हामीले बजार अनुगमन गर्दा धेरै जसो म्याद गुज्रिएका खाद्य सामग्री फेला पारेका छौं । बजार अनुगमनको हाम्रो निष्कर्ष भनेको म्याद गुज्रिएका खाद्य सामग्री कम गर्न उपभोक्ता नै सचेत हुनुपर्ने देखियो’ उनले भने ।
नगरपालिकाले गरेको बजार अनुगमनमा विगतको तुलनामा बजार सफा र स्वच्छ रहेको लम्सालको भनाई छ । नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन मात्र नभई नियमित अनुगमन पनि सुरु गर्ने बताए । ‘अब हामी चाडपर्व लक्षित मात्र नभई कार्ययोजना नै बनाएर निश्चित समयमा बजार अनुगमन गर्ने छौं । त्यतिखेरको अनुगमन भने आकस्मिक अनुगमन हुनेछ’ उनले भने ।
नगरपालिकाले आगामी दिनमा गर्ने बजार अनुगमनमा म्याद गुज्रिएका सामग्री फेला परे आवश्यक कारबाहीको प्रक्रिया पनि अगाडी बढाउने प्रशासन शाखा प्रमुख लम्सालले बताए । ‘प्रथम चरणमा म्याद गुज्रिएका सामग्री जफत गरेका छौं भने आगामी दिनमा पनि हामीले फेला पा¥र्याै भने सम्बन्धीत निकायसंग समन्वय गरेर कारबाहीको प्रक्रिया अगाडी बढाउने छौं ।
चाडपर्व लक्षित बजार अनुगमनमा नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, १० का १३२ वटा व्यवसायीक क्षेत्रमा अनुगमन गरेको छ । यस अनुगमन ‘शुक्लागण्डकी नगरपालिकाको बजार निर्देशिका–२०७५’ बमोजिम गरिएको छ ।