तनहुँ । नेपालीहरुको महा पर्व बडा दशैं आजदेखि सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घरका पूजा कोठा र दशैं घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।
विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा खाने गरिएको छ ।