दुलेगौडा । शुक्लागण्डकी नगरपालिकाले बजारमा बिक्री गर्न राखेका अखाद्य वस्तुहरू जफत गर्न सुरू गरेको छ ।
आम सर्वसाधारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले म्याद गुज्रिएको खाद्य सामग्री जफत गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । ‘हामीले नियमित अनुगमन साथसाथै चाडपर्व लक्ष्यित बजार अनुगमन सुरू गरेका छौं । नेपालीहरूको महान चाडपर्वहरू आउदै गर्दा आम सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पु¥याउने खाद्य सामग्री बिक्री वितरण नहोस्, व्यवसायिहरुले कानुन अनुसार दर्ता नविकरण गरेको छन् कि छैनन् भन्ने उद्देश्यले बजार अनुगमन गरेका हौ’ उनले भने ।
नगरपालिकाले सुरु गरेको बजार अनुगमनमा प्रायजसो व्यापारीहरुले व्यवसाय नविकरण नगरेको प्रशासन शाखा प्रमुख लम्सालल बताए । साथै उनका अनुसार अनुगमनको क्रममा म्याद गुज्रिएका वस्तुहरु जफत गरिएको छ ।
बजार क्षेत्रमा अनुगमन गर्दा विगतको तुलनामा व्यापारी र आम सर्वसाधारण नागरिकमा चेतनाको स्तर वृद्धि भएको लम्सालको भनाई छ । ‘हामीले विगतमा बजार अनुगमन गर्दा धेरै नै म्याद गुज्रिएका खाद्य सामग्री जफत गरेका थियौं । यस पटक भने अखाद्य वस्तुहरु पाए पनि विगतको जस्तो पाईएन् । जे होस व्यापारी र आम सर्वसाधारण नागरिकमा चेतनाको स्तर वृद्धि भएको पायौं’ उनले भने ।
नगरपालिकाले आज (बिहीबार–६ गते) देखि १० गते सम्म बजार अनुगमन कार्यलाई निरन्तरता दिने भएको छ । नगरपालिकाले पहिलो दिन शुक्लागण्डकी–४ दुलेगौंडाको ३३ वटा किराना पसल, मासु पसल लगायतका खाद्य व्यवसायिक क्षेत्रमा अनुगमन गरेको छ । नगरपालिकाले ‘शुक्लागण्डकी नगरपालिकाको वजार निर्देशिका–२०७५’ बमोजिम बजार क्षेत्र अनुगमन गर्दै आएको छ ।