काठमाडौं । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।
हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् । आजका दिन उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिनामा रहेको विश्वकर्मा मन्दिरमा बिहानै देखि भक्तजनको भिड लागेको छ । मन्दिर परिसरमा आएर भक्तजनहरुले आफुले प्रयोगमा ल्याएको सवारी साधन, हातहतियारको पुजा गरेका छन् ।