तनहुँ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आजदेखि म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ ।
७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले गएको आइतवार म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने उल्लेख छ । असोज ७ गते सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी पुलिसको कार्यअवधि ४० दिनको हुनेछ ।