भिमाद । तनहुँको भिमाद नगरपालिकामा भिमाद युवा क्लबले निःशुल्क वृहत स्वास्थ्य शिविर सुरु गरेको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने मुल नाराको साथ क्लबले शनिबार र आइतबार दुई दिन निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सुधार गर्न प्रति आफु सधै समर्पित रहने बताए । ‘स्वास्थ्य जिवनको सबैभन्दा ठुलो धन हो । नागरिकको स्वास्थ्यमा सुधार गर्न प्रति म सधैव लागि पर्नेछु । त्यसैले मनैबाट सहयोग गर्नुपर्छ भन्ने हेतुले शिविर चलाउन आयोजकलाई सहयोग गरेको हु’ उनले भने । साथै उनले स्वास्थ्य शिविरबाट बढी भन्दा बढी व्यक्तिले लाभ लिन आग्रह समेत गरे ।
प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद–६ मा संचालन भएको शिविरमा मोतिया विन्दुको अप्रेशनसहितको आँखा जाँच, हाडजोर्नी तथा नशा रोग, पेट, छाती, मुटु, सुगर र प्रेसर, महिला तथा प्रसुति सम्बन्धि रोग, बाल रोग, छाला रोग, दाँत, हाईड्रोशिल, शिष्ट लिफोमाको माइनर अप्रेशन समेत हुने आयोजकले जनाएको छ । शिविरमा टिचिङ्ग हस्पिटल काठमाण्डौँका विभिन्न रोगका विशेषज्ञहरुद्धारा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।