दमौली । तनहुँकै भएर पनि, कांग्रेस नै भएर पनि, अनि किसुनजीले नै पत्याएर पनि रामचन्द्र पोखरेल सहकर्मी रामचन्द्र पौडेलजस्तो बन्न सकेनन् । भन्न त कांग्रेसका एक संस्थापक कृष्णप्रसाद भट्टराईले उनीहरुसहित चारैजनालाई देखाउँदै भनेका रहेछन्, ‘ल है, तपाईंहरु यहाँको हाईकमान्ड ।’ ती चार नेताहरु थिए– रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी र रामचन्द्र पोखरेल ।
बेला बितेर गयो । किसुनजी पनि गए । हाइकमान्डको हाईहाई पनि फासफुस भएर गयो । चार मध्येका एक जोशीलाई कांग्रेसले कारबाही गरेपछि फरक बाटो लागेर राजनीति गरिरहेका छन् । स्वास्थ्यका कारण कैनी राजनीतिमा सक्रिय छैनन् । सक्रिय पौडेल र पोखरेल हुन् । रामचन्द्र पौडेल झण्डै दुई दशकदेखि केन्द्रीय भूमिकामा हालीमुहाली गरिरहँदा केन्द्रीय भूमिकामा रहँदा पोखरेल भने जिल्लामै क्रियाशील छन् । रामचन्द्र भइकन पनि पोखरेल किन पौडेल बन्न सकेनन् त ?
पौडेलका समवयी नेता पोखरेल २०४८ देखि निरन्तर तनहुँ १ मा प्रत्यक्ष निर्वाचनका आकांक्षी हुन् । पौडेल र पोखरेलको एउटै गृह क्षेत्र भएकाले उनले टिकट पाउन सक्दैनन् । पोखरेलको आकांक्षा अर्कोपटक पूरा गर्ने भन्दै पौडेलले सधैंजसो चुनावका बेला उनलाई थामथुम पार्छन् ।
पौडेलले प्रत्येक चुनावमा पोखरेललाई दिने आश्वासन स्मरण गर्दै तनहुँका एक नेता भन्छन्, ‘तपाईं यसपटक होइन, अर्को पटक लड्नुस् । अर्कोपटक तपाईंको लागि म नै सहयोग गर्छु ।’
पौडेलको बचन पत्याउँदै उनलाई सहयोग गर्दै आएका पोखरेलले यसपटक पनि टिकट पाउने सम्भावना न्यून छ । यद्यपि, पोखरेलको नाम सिफारिसमा भने परिरहन्छ । पौडेल सहित केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, शंकर भण्डारी र पोखरेलको नाम तनहुँ १ बाट सिफारिस भएको छ ।नेता रामचन्द्र नै अघि सरेकाले अरु नेताहरुले यस क्षेत्रमा टिकट पाउने सम्भावना यसपटक पनि देखिँदैन । पौडेलले विगतमा टिकटको लागि अडान लिनु र यसपटक ‘आफू’ नै भन्नुमा भिन्नता छ । अनलाइनखबरबाट