दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरमा सुशासन कायम गराउनका निम्ति पारदर्शी भित्तो खडा गरेको छ । आईतबार जनप्रतिनिधिको एक सय दिनको समयावधि पुरा भएको अवसरमा पारदर्शी भित्तो सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले नगरले गर्ने कार्य भनेको खुला किताब रहेको बताए । नगरका हरेक गतिविधि जनताले थाहा पाउनुपर्छ भन्ने हेतुले पारदर्शी भित्ता सञ्चालनमा ल्याएको उनको भनाई छ । ‘हामीले गर्ने कार्यहरु खुला किताब हुन् । यहाँ लुकाउने, ढाट्ने, छल्ने कुरा हुदैन । आम नागरिकले स्पष्ट रुपमा नगरपालिकाले के गरेको छ, के छ योजना, भावि योजना के छन्, नीति र निर्णयहरु के भएका छन् भनेर स्पष्ट थाहा पाउन सहज हुने वातावरण सिर्जना गर्न पारदर्शी भित्तो सञ्चालनमा ल्याएका हौं’ उनले भने ।
सोही कार्यक्रममा बोल्दै नगरका उपप्रमुख खुमबहादुर विक राजुले निवेदन दिएपछि मात्रै सुचना प्रदान गर्ने परिपाटीको अन्त्य गराउन पारदर्शी भित्तो सञ्चालनमा ल्याएको बताए । ‘सरकारले गरेको काम नागरिकले थाहा पाउन अधिकार छ । हालसम्म सामान्य जानकारी लिन पनि निवेदन दिनुपर्ने अवस्था छ । तर हाम्रो शुक्लागण्डकी नगरपालिकाले निवेदन दिएर सुचना दिने परिपाटीलाई अन्त्य गर्दै नगरपालिकामा भईरहेका जानकारी नागरिक सामु पारदर्शी ढंगले पु¥याउन यो सञ्चालनमा ल्याएका हो’ उनले भने ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले भुई तहका नागरिकलाई सुचना प्रदान गर्न पारदर्शी भित्तो महत्वपूर्ण रहने बताए । साथै उनका अनुसार पारदर्शी भित्तोले नागरिक र स्थानीय सरकार विचमा सुमधुर सम्बन्ध कायम गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । ‘परदर्शी भित्तो सञ्चालनमा ल्याउनुको प्रमुख उद्देश्य सुशासन हो । सुशासन कायम गर्न प्रमुख उपकरण पारदर्शीता र सुचनाको हक सम्बन्धी व्यवस्थाको कार्यनव्यन हो’ उनले भने ।
शुक्लागण्डकी नगरपालिकाले सञ्चालनमा ल्याएको पारदर्शी भित्तोमा नगरपालिकामा हुने दैनिक सुचना/ कार्यक्रम, मासिक आयव्य विवरण, अन्य वैठकका निर्णयहरु, लेखापरीक्षण्को प्रतिवेदन, नगर सभा/कार्यपालिकाको बैठकका निर्णयहरु र विविध सुचनाहरु जनतालाई जानकारी गराउन र पारदर्शीता कायम गराउन प्रकाशित गरिने छ ।