दुलेगौंडा । हरेक बर्ष भाद्र कृष्ण अष्टमीको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाईन्छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पनि विभिन्न समुदायले कृष्ण जन्माष्टमी विशेष जात्रा निकालेका छन् ।
धर्म र संस्कारण संरक्षण गर्ने मुख्य उद्देश्यले विभिन्न समुदायले जात्रा सहितको रथयात्रा निकालेका थिए । आज बिहान (शनिबार) आर्दश समाज दुलेगौंडा र अरिनेव पुचः सेवा कोषले झाँकी सहितको रथयात्रा, कृष्ण जात्रा निकालेका थिए । उनिहरुले कृष्ण भगवानको मुर्तिलाई रथमा राखेर बजार परिक्रमा गरेका थिए ।
संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।