भिमाद । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आगामी मंसिरमा हुने निर्वाचनमा असार १५ का किसान झै खटिन आग्रह गरेका छन् । मंगलबार नेकपा एमाले भिमाद नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उनले चुप लागेर बस्ने दिन नरहेको भन्दै निर्वाचनमा किसान झै खटिन आग्रह गरेका हुन् ।
‘अब चुप लागेर बसेर हुन्न, मंसिरमा भर्नु पर्छ भकारी, असार १५ गतेका किसान जसरी बाहिर निस्कनु, परिणम हाम्रो हातमा आउँछ’ उनले भने, ‘ज गरे पनि नेकपा एमालेले चुनाव जित्नुपर्छ । त्यो पनि ईतिहासमा पहिलो पटक बहुमत ल्याउने गरि, संकटकै बेला बढि खट्नु पर्छ ।’ विगतमा राम्रो गरेको पार्टीलाई अरु कसैले पनि जित्न नसक्ने दाबी गरे । साथै मंसिरमा हुने निर्वाचनपछि नेकपा एमालेले सरकार बनाउने बताए । ‘हामी जित्ने छौ मंसिर ४ गते, हामी हाम्रो सरकार बनाउने छौ । जनताको सरकार बनाउने छौ । यिनको जस्तो परिवारको जस्तो सरकार बनाउने छैनै । देश र जनताको लागि सरकार बनाउने छौ’ उनले भने ।
नेकाप एमाले भिमाद नगर कमिटीका अध्यक्ष ईमान गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिट व्यूरो सदस्य टुकराज सिग्देल, प्रतिनिधि सभा सदस्य केदार सिग्देल, नेकपा एमाले तनहुँ जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम भिमादको उद्योग बाणिज्य संघको सभाहलमा भएका थियो ।