दुलेगौंडा । आज गाईजात्रा पर्व हो । विशेष गरेर नेवार समुदाय बसोबास भएका ठाउँमा यो पर्व मनाइन्छ । मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाइजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा पनि नेवारी समुदायले मृतकको सम्झनामा गाईजात्रा निकालेका छन् । मृतकको दिवाङ्गत आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाईने गरेको स्थानीय मुक्तिमान बुद्धचार्यले बताए ।
गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ । राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकले बिह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि गाईजात्रा निकाल्न आदेश दिएका थिए । सोही आदेश अनुरूप आजसम्म यस पर्व मनाइदै आएको पाईन्छ ।