दुलेगौंडा । तनहुँको प्रसिद्ध धार्मिक स्थलको रुपमा स्थापित मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा आजदेखी शिव महिमा बोलबम महोत्सव सुरु भएको छ । मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्ने साथै धार्मिक उत्प्रेरणको माध्यमबाट समाज परिर्वतन गर्ने मुल उद्देश्य सहित महोत्सवको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले समाज परिर्वतनमा धर्मले महत्वपूर्ण भुमिका खेलेको बताए । ‘धर्म प्रति मैले आस्था पनि राख्छु । यस क्षेत्रको विकासमा धर्मले महत्वपूर्ण भुमिका खेलेको छ’ उनले भने । मन्दिरको विकासको लागि नगरपालिका र आफ्नो व्यक्तिगत हिसाबले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे
महोत्सवको पहिलो दिन शुक्लागण्डकी नगरपालिका गेटदेखि मन्दिर सम्म कलश यात्रा गरिएको थियो । आज साउन महिनाको तेस्रो सोमबार पनि रहेको हुदाँ मन्दिरमा भक्तजनको घुईचो लागेको थियो । महोत्सव अवधिभर भगवत मञ्जरी राधिका दासी महाराजको मुखारविन्दबाट शिवमहिमा बाचन गरिने छ । महोत्सव साउन १६ गते देखि २३ गतेसम्म सञ्चालन हुने अयोजकले जनाएको छ ।