दुलेगौंडा । विगता लामो समयदेखि लालपुर्जा पाउने आशमा बसेका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित वसोवासीलाई शुक्लागण्डकी नगरपालिकाले निस्सा वितरण गरेको छ ।
मंगलबार शुक्लागण्डकी नगरपालिका–२ का ५ सय ७३ जना नागरिकलाई नगरपालिकाले निस्सा वितरण गरेको छ । निस्सा वितरण कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सार्वजनिक जग्गालाई बचाउने गरेर पुर्जा वितरण कार्यलाई अगाडी बढाउने बताए । नगरपालिकाले राष्ट्रिय रणनीति अनुसार भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउने उनको भनाई छ । ‘हामीले राष्ट्रिय रणनीति अनुसार भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई प्राथमिकतामा राखेर काम गर्ने छौ । त्यसप्रछि क्रमश अव्यवस्थित वसोबासीको लागि पनि काम गर्ने छौ’ उनले भने ।
सोही कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) ले निस्सा भनेको पुर्जा नभए पनि पछि सरकारी प्रमाणको रुपमा प्रयोग गर्न मिल्ने बताए । साथै कोही छुटेको भए पछि अध्ययन गरेर यस कार्यलाई अगाडी बढाउने बताए ।
शुक्लागण्डकी नगरपालिकाले स्थानीय तहको निर्वाचन अगाडी नगरको वडा नम्बर ७ मा निस्सा वितरण गरेको थियो । हाल निस्सा वितरण भएको यस वडामा जग्गा नाप नक्साको कार्य अगाडी बढिरहेको छ । त्यस लगतै शुक्लागण्डकी–२ मा पनि जग्गा नाप, नक्साको काम अगाडी बढ्ने नगरपालिले जनाएको छ ।