तनहुँ । यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिएको छ। नेपाल शिक्षा परिषद्ले २०९औँ भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको आदिकवि भानुभक्त पुरस्कारबाट यस वर्ष इतिहासकार नेपालीलाई प्रदान गरिएको हो ।
१ लाख २५ हजार रुपैयाँ नगद राशि र प्रमाणपत्र रहेको यो पुरस्कार हिजो साहित्यकार एवम् शिक्षाविद् मुकुन्द शर्मा चालिसेले नेपालीलाई प्रदान गरिएको छ । भानु पुरस्कारबाट सम्मानित नेपाली २०१३ सालको मदन पुरस्कार विजेता समेत रहेका छन् । ९२ वर्षीय नेपालीले ‘तत्कालीन नेपाल र भीमसेन थापा’ कृतिमा मदन पुरस्कार पाएका थिए ।
पुरस्कार हस्तान्तरण गर्दै शिक्षाविद् चालिसेले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा भानुभक्त आचार्यको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली भाषा, साहित्य, संस्कृति र अध्यात्म क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष भानु पुरस्कारबाट सम्मान गर्दै आएको बताए ।