दमौली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो (मंगलबार) बसेको बैठकले सार्वजनिक बिदाको निर्णय गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको सम्मानमा भानु नगरपालिकाले पनि दुई वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको छ । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित आचार्य वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।
आचार्यले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् ।