बेलचौतरा । मुस्लिम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो पर्व बकर इद (इद उल अजहा) आईतबार मनाएका छन् । शुक्लागण्डकी नगरपालिकाको गल्छिना स्थित गौसिया जामे मस्जिद र संगै रहेको बस्तीमा बकर इद मनाउन आएका मुस्लिमहरुको रौनक रमाइलो देखिएको छ।
ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ । बकर इदको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिइएको छ।
यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।
नेपाल मुस्लिम सेवा समाज, शुक्लागण्डकीका अध्यक्ष जुम्मादीन मियाका अनुसार यस पर्वले समुदायामा एक अर्का प्रतिको सम्बन्धलाई प्रगाढ बनाउने बताउनु भयो । नेपाल पत्रकार महासंघ, कतार शाखाका अध्यक्ष समेत रहनु भएका स्थानीय अगुवा करिम बक्स मियाका अनुसार मुस्लिम धर्मग्रन्थमा आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।
उनका अनुसार यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलमानहरुले आफ्नो गाउँ लगायतका सामिप्यता रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर ईद लाई केवल कुबानी अर्थात वलीसंग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात जीवन लिनु मात्र नभई जीवनको मुल्य बुझेर सम्मान गर्नु पनि हो ।