काठमाण्डौं । वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो । सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौं बाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो।
सरकारले गरेको निर्णयमा चित्त नबुझै कारण संघले अत्यावश्यक सेवामा बन्दको घोषणा गरेको हो। ‘बाध्यात्मक रूपमा यस संघसंग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९।०३।०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघको विज्ञप्तिमा भनिएको छ ।
सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ । अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन् । स्रोतः सेतोपाटी