दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ मा युवाहरुका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । मंगरबारदेखी शुक्लागण्डकी नगरपालिका–७ ले उक्त तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन शत्रमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उप–प्रमुख खुमबहादुर वि.क (राजु) ले सिकेका कुरालाई व्यवहारत लागु गर्नुपर्ने बताए । ‘तपाईहरु यहाँ सिक्नका लागि आउनुभएको छ । केहि कुरा सिक्ने मानिसले जहिले पनि मस्तिष्कलाई खालि राख्नुपर्छ । सोही अनुरुप तपाईहरु तयारी भएर आउनुपर्छ । साथै सिकेका कुरालाई व्यवहारमा लागु पनि गर्नुपर्छ’ उनले भने । उप–प्रमुख राजुका अनुसार युवाको उर्जा, उत्साह र क्षमतालाई उपयोग गर्न सकिए वडाको विकास द्रुत गतिमा अगाडी बढ्ने छ ।
शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्क सिं थापाले सचेत र सक्षम युवा भएको ठाँउले छिटो मुहार फेर्ने भएकाले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य विमल जि.सी (भुजेल) वडा सदस्य गिरबहादुर थापा, कविता वि।क, राजबहादुर थापा, नेपाली काँग्रेसका क्षेत्रीय सचिव सन्तोष घिमिरे, वडा सचिव महेन्द्र घिमिरे लगायतले बोलेका थिए । तालिम आगामी २८ गतेसम्म संचालन हुनेछ । तालिममा २५ जना युवाहरुको सहभागीता छ ।