भिमाद– बुढ्यौली लागेपछि उठबस गर्नलाई पनि कसैको साहारा चाहिन्छ ।जिल्लाको भिमाद नगरपालिका–१ किहुँका निर्मलकुमार थापा ७६ बर्षको उमेरमा गाउँलाई चिनाउने सपना देखेर कृषि कर्ममा लागेका छन् । युवाको जस्तै जोश र जाँगर निकालेर उनी कृषि कर्ममा कम्मर कसेर लागेका हुन् ।
बुवा पहलसिंहको गाउँलाई चिनाउने अभियानलाई आफुले बुढेसकालमा सार्थक बनाउन लागि परेको उनको भनाई छ । गाउँ चिनाउनलाई उनले बुढेसकालमा दुई दशकदेखी बाँझिएको जग्गा हराभरा बनाउन लाग्दा गाउँले पनि छक्क छन् । बाँझो जग्गालाइ हराभरा बनाउनलाई उनले नमुना कृषि फर्म सञ्चालन गरेका छन् । जहाँ उनको एक करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । उनको फर्ममा बंगुर, बाख्रा, हाँस, कुखुरा लगायतका पशुपंक्षी पालन भएको छ । आफ्नो देखासिकी गर्दै गाउँलेले कृषि र पशुपालनमा लागेको हेर्ने चाहाना भएको उनले बताए । ‘कृषि कर्म गरेर गाउँलाई चिनाउने अभियानमा छु । गाउँलेले देखासिकी गरेर आत्मानिर्भर बन्नेछन् भन्ने अपेक्षा छ’, उनले भने ।
निर्मलकुमारले सञ्चालन गरेको फर्ममा ४ चार जनाले रोजगारी पाएका छन् । उनको दैनिकी फर्ममा रहेको कुखुरा, हाँस, बंगुर, बाख्रा संगै बित्छ । गाउँलेले आराम गरेर बस्न सुझाव दिए पनि आफुले गाउँ चिनाउनलाई यो पेशामा लागेको प्रतिकृया दिन्छन् उनी ।
निर्मलकुमार युवा अवस्थामा सिङगापुर आर्मी कार्यरत थिए । करिब १५ देशको भ्रमण गरेको अनुभव छ उनलाई । सिंगापुर आर्मीमा हुदाँ निर्मलकुमारलाई हृदयघात भएपछि उपचारका लागि बु्रनाई पुगे । त्यसपछि २४ बर्षी उनी अमेरीकामा बसे । अमेरीकामा बस्दा चिनेको जानेको कोही नभएपछि एक्लो महशुस गरेर निर्मलकुमार नेपाल फर्किएका हुन् । उनको काठमाण्डौंमा दुई घर छन् । तर काठमाडौँमा मन नरमेपछि उनी गाउँ फर्किएर कृषि र पशुपालनमा लागेका छन् । र उनलाई यही कामले अथाहा खुशी मिलेको छ । ‘शहरको धुलो, धुवाँ भन्दा गाउँको स्वच्छ हावापानी प्यारो छ’, उनी भन्छन् ।
निर्मलले गाउँलेलाई गाउँमै उद्यम गर्न सुझाव दिन्छन् । विदेशमा अरुको आदेशमा चल्नुपर्ने हुदाँ स्वदेशमै काम गरेर जिविको पार्जन गर्नुपर्ने उनको तर्क छ । ‘किन हामी विदेश जाने ? बाहीर गए पनि दुखै हो के रे । त्यहाँ अरुको अन्डरमा काम गर्नुपर्छ । यहाँ आफ्नै घरमा गरौ न भनेर गाउँलेलाई प्रेरित गर्न गाउँ फर्किएर कृषि कर्म गर्दैछु’, उनले सुनाए ।