दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–९ का निर्वाचित जनप्रतिनिधिले पनि कार्यभार सम्हालेका छन् । वडाका संस्थापक जनप्रतिनिधिले नव निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सुम्पिएका हुन् । कार्यभार हस्तान्तरण गर्दै शुक्लागण्डकी–९ का संस्थापक वडाध्यक्ष लोकनारायण श्रेष्ठले जनताको सल्लाह सुझाव अनुसार काम गर्न आग्रह गरे । साथै उनले जनताको सेवामा कमि हुन नदिनुका साथै आफुहरुले अगाडी बढाएका पुराना योजनाहरुलाई पनि आत्मसाथ गर्दै अगाडी बढ्न सल्लाह दिए ।
शुक्लागण्डकी नगरपालिका–९ मा वडाध्यक्ष धनबहादुर थापा नेतृत्वको जनप्रतिनिधिले कार्यभार सम्हालेका छन् । कार्यक्रममा बोल्दै निर्वाचित वडाध्यक्ष थापाले जनताको आवश्यकता अनुासर आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अपाङ्ग, अशक्त, वृद्ध व्यक्तिहरुलाई घरमै भत्ता पु¥याउने, अपाङ्ग, अशक्तका छोरा छोरीको शिक्षाका लागि सहयोग गर्ने साथै आफ्नो घोषण पत्र अनुसार ५ बर्षमा जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्ष थापा सहित महिला वडा सदस्यमा बुद्धिमाया गुरुङ, दलित महिला सदस्य सुनिता विक, खुल्ला सदस्यमा कमल थापा र दिपक महतले कार्यभार सम्हालेका हुन् ।
पदहस्तान्तरण कार्यक्रममा पूर्व गा.वि.स अध्यक्ष श्यामराजा महत, नेकपा एमालेका प्रदेश कमिटि सदस्य सुर्यबहादुर गुरुङ, खिमबहादुर महत, नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी मुक्तिप्रसाद सापकोटा, राप्रपाबाट वडाध्यक्षका प्रत्यासी नेत्रबहादुर कार्कीको उपस्थिती रहेको थियो । भने वडा सचिव संगिताकुमारी शर्माले कार्यक्रम संञ्चालन गरेकी थिईन् ।