दुलेगौंडा । भोलि अर्थात वैशाख ३० गते देशैभरी एकैसाथ स्थानीय तहको निर्वाचन हुदैै छ । आगामी ५ बर्षको लागि आफ्नो क्षेत्रको सम्मुन्नत विकास गर्ने जनप्रतिनिधिको खोजिमा रहेका मतदाता कोही उत्साहित छन् भने कोही निरुत्साहित छन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार निवासी हरिबहादुर परियार यसपटक मतदान गर्न खास्सै उत्साहित नरहेको बताए । उनले यस निर्वाचनमा काम गर्ने मान्छेको खोजिमा रहेको बताएका छन् । ‘मलाई त राम्रो काम गर्ने मान्छे चाहिएको छ, त्यस्तै खोजिरहेको छु । चाहे जुनसुकै पार्टीको होस् तर हामीलाई पार्टी भन्दा पनि विकास गरिदिने मान्छे चाहिएको छ’ उनले भने ।
यता शुक्लागण्डकी नगरपालिका–५ का अमृत क्षेत्री पहिलो पटक मतदान गर्दै छन् । यस निर्वाचनमा असल प्रतिनिधको छनेट गर्ने मैका पाएको हुदाँ मतदान गर्न निकै उत्साहित भएको बताए । ‘यो मेरो पहिलो पटक मतदान गर्ने अवसर रहेको हुदाँ निकै उत्साहित छु । त्यसमाथि आफुले चाहेको राम्रो उम्मेद्वारले छनोट गर्ने अवसर पाएको हुदाँ खुसी छु’ उनले भने ।
शुक्लागण्डकी नगरपालिका–६ की रचना अधिकारी पहिलो पटक मतदान गर्ने अवसर पाए पनि खास्सै उत्साहित नरहेको प्रतिक्रिया दिईन् । यसअघिका जनप्रतिनिधिले जति काम गर्छु भने पनि जितेपछि खास्सै विकास नगरेको हुदाँ त्यति उत्साहित नरहेको बताईन् । ‘उत्साहित भन्दा पनि आफ्नो अधिकारको कुरा भएको हुदाँ भोट हाल्न लागेको हो । यसअघिका जनप्रतिनिधिले ठाउँको विकास गर्छु भनेर भोट मागेर जित्नुभयो । तर ठाउँमा पुगेपछि केही पनि गर्न सक्नुभएन । त्यसैले त्यति उत्साहित चाही छैन्’ उनले भनिन् ।
आफुले यसपटक पार्टी भन्दा पनि व्यक्ति हेरेर भोट दिने हुदाँ मतदान गर्न उत्साहित रहेको बेलचौताराका स्थानीय नारायण पौडेलले बताए । ‘अब हामीले पार्टी हेर्ने होईन । जुन मान्छेले राम्रो गर्छ, त्यही मान्छेलाई भोट दिने हो । यो नेता, उ नेता, फलानो नेता भनेर हेरिदैन् । राम्रो काम गर्नेलाई छान्ने हुदाँ उत्साहितत नै छु’ उनले भने ।