दुलेगौंडा । स्याङ्जाको हरिनास गाउँपालिकाका नेपाली कांग्रेस र नेकपा मओवादी केन्द्र गठबन्धनका उम्मेद्वारले शुक्लागण्डकी नगरपालिकामा आएर मत मागेका छन् । रोजगारीको शिलशिलामा शुक्लागण्डकी नगरपालिका भित्र बसेवास गर्दै आईरहेका हरिनास गाउँपालिकाका स्थानीयहरुसंग शुक्रबार दुलेगौंडामा एक कार्यक्रम बिच ५ बर्षे योजना प्रस्तुत गर्दै मत मागेका हुन् ।
कार्यक्रममा बोल्दै गठबन्धनपछि नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वार दिएका टोप बहादुर भुजेलले गठबन्धको सरकारलाई बिजय गरामा गाउँका सबै नागरिकलाई निशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरे । ‘यदि हामीलाई स्थानीयहरुले विजय गराएको खण्डमा हामी गाउँपालिका भित्रका सबै नागरिकको स्वास्थ विमा गरिदिने छौ ।’
गाउँपालिकाका अधिकांश क्षेत्रमा प्रायजसो लोडसेडिङ हुने हुदाँ आफुहरु निर्वाचित भएमा पहिलो प्राथमिकतामा लोडसेडिङ अन्त्य गर्ने गाउँपालिका अध्यक्षका उम्मेद्वार भुजेलले बताए । यो संगै गाउँपालिकादेखि प्रत्येक वडासम्म सडक पहुँच पु¥याउने, त्रैमासिक रुपमा घुम्ति यात्रा गर्ने, टोल टोलमा पुगेर जेष्ठ नागरिकलाई वृद्धभत्ता प्रदान गर्ने, शिक्षा, स्वास्थ्य तथा सरसफाई, खानेपानी, कृषि, सञ्चार, पर्यटन, पेशा व्यवसया र रोजगार, महिला सशक्तिकरण, सुशासन व्यवस्था, वित्तिय व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्याङ्जा तनहुँ एकता समाजका अध्यक्ष दिपकबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गठबन्धनपछि नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार मिठु लम्साल, नेपाली कांग्रेसका नेताहरु ईन्द्रबहादुर गुरुङ, अमृत क्षेत्री, तेजबहादुर थापा, लक्ष्मी सुनार लगायतको उपस्थिती रहेका थिए । कार्यक्रममा शुक्लागण्डकीलाई कर्मथलो बनाएर बसेका हरिनास गाउँपालिकाका ६० जना भन्दा बढि स्थानीयहरुको उपस्थिती रहेका थियो । कार्यक्रमको संञ्चालन नारायण प्रसाद पोख्रेलले गरेका थिए भने स्याङ्जा तनहुँ एकता समाजका सदस्य कमल अधिकारीले धन्यवाद मन्तव्य दिएका थिए ।