दमौली । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आम सर्वसाधारण नागरिकलाई मतदान गर्ने प्रक्रियाबारे जानकारी गराउदै दमौलीमा नमुना मतदान गरिएको छ । बुधबार प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ र निर्वाचन कार्यालयको संयुक्त आयोजना नमुना मतदान गरिएको थियो ।
कार्यक्रममा महिला, पुरुष, युवा, जेष्ठ नागरिक, अपाङ नागरिकलाई मतदान दिने सहज व्यवस्था मिलाए मतदान गर्ने प्रक्रियाबारे जानकारी दिईएको थियो । नमूना मतदानमा ६१ जनाले मतदान गरेका थिए भने केही मत बदर पनि भएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जवल पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले नमुना मतदानमा समेत मत बदर भएको हुदाँ आम नागरिकलाई यसबारे सुसुचित गराउन मतदाता शिक्षा दिईने बताए । उनका अनुसार २८ र २९ गते हरेक मतदान स्थलमा दुई/दुई जना स्वयम्सेवक खटिने २९ गते मतदाता परिचय पत्र वितरण गर्दा आउने कसैलाई अलमल भएमा नमुना मतपत्र देखाएर सहजीकरण गरिने छ ।
कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आर्याल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, पुर्व अध्यक्ष ओमकार आचार्य, प्रेम प्रसाद पौडेल शाखा अध्यक्ष उज्वल पौडेल लगायत पत्रकार तथा आम नागरिको उपस्थिती रहेको थियो ।