खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा संञ्चालित शुक्लागण्डकी महोत्सव सम्पन्न भएको छ । ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटन प्रवद्धन, शुक्लागण्डकी महोत्सव, कला सिप र संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव १२ दिनसम्म विविध कार्यक्रम गरि सोमबार सम्पन्न गरिएको हो ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले २ करोड २९ लाख ९३ हजार बराबरको आर्थिक कारोबार गरेको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए । उनका अनुसार १० दिनसम्म संञ्चालित महोत्सवमा १ लाख १६ हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।
महोत्सवको समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले दुई संस्था एक भएर महोत्सव आयोजना गरिएको हुदाँ महोत्सव आफैमा पूर्ण भएको बताए । शुक्लागण्डकी महोत्सवले शुक्लागण्डकीको मात्र नभई समग्र तनहुँ जिल्लाकै मान उच्च बनाउन सफल भएको बताए । ‘महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन र खेलकुद प्रवद्धनमा विशेष जोड दिईएको छ । बहु आयामिक ढंगले महोत्सव आयोजना गरिएको हुदाँ यसले शुक्लागण्डकी मात्र नभई जिल्लाकै मान उच्च बनाउन सफल भएको छ’ उनले भने । शुक्लागण्डकी नगरपालिका भित्र रहेका ढोरबाराही, तिनखोले, भुजिकोट लगायतका पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार तयार गरि पर्यटन क्षेत्रको विकास गर्न आफु सक्रिय रुपमा लागि पर्ने बताए ।
१० दिनसम्म संञ्चालित महोत्सवमा रत्तौलि, एकल नृत्य, भलिबल, ब्याटमिन्टन प्रतियोगिता संञ्चालन भएको थियो ।
महोत्सव अवधिमा संञ्चालित अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी–११ प्रथम भएको थियो । यसै गरि वौद्धिकालि गाउँपालिका द्धितीय र शुक्लागण्डकी १२ तृतीय भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले कमशः ७५, ४० र २५ हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यसै गरि महोत्सवमा आयोजित एकल नृत्य प्रतियोगितामा मौसम थापा मगर प्रथम भएका छन् । प्रथम भएसंगै मगरले नगद ४० हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् । यसै गरि प्रतियोगितामा अजय सुनार द्धितीय र सोनि थापा मगर तृतीय भएका छन् । सुनार र मगरले क्रमशः २५ र १० हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
महोत्सवमा आयोजित खुल्ला ब्याडमिन्टन प्रथियोगितामा सागर थापा र बुद्धि थापाको समुह प्रथम र धनबहादुर गुरुङ र लालबहादुर गुरुङ द्धितीय भएका छन् । प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमशः २१ हजार र १२ हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गररेको छ ।
स्थानीय संस्कृतिको प्रवद्धन गर्ने लक्ष्यले आयोजना गरिएको रत्तौलि प्रतियोगितामा प्रगति टोल शुक्लागण्डकी नगरपालिका–६ प्रगतिटोल प्रथा भएको छ । यसै गरि शुक्लागण्डकी नगरपालिका–७ मा रहेको मिलिजुली आमा समुह र लगनशील आमा समुह क्रमश द्धितीय र तृतीय भएका छन् । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेले क्रमश ११ हजार, ७ हजार र ४ हजार साथमा प्रमाण पत्र प्राप्त गरेको थियो ।