दुलेगौँडा- लियो क्लब अफ खैरेनिटार दुलेगौँडा मन्त्रले नयाँ बर्षको अवसरमा आयोजना गरेको ‘लियो मिनि म्याराथन’ प्रतियोगिताको उपाधि आँबुखैरेनीका सनम गुरुङले हात पारेका छन् । गुरुङले निर्धारीत ७ किलोमिटरको दुरी २४ मिनेटमा पार गर्दै उपाधि जितेका हुन् ।
दमौलीका सोमबहादुर कुमाल दोस्रो, पर्वतका विकास कार्की तेस्रो र भिमादका विकास श्रेष्ठ सान्त्वना भए । उनिहरुले निर्धारीत दुरी क्रमशः २५ मिनेट ५ सेकेन्ड, २५ मिनेट १८ सेकेन्ड र २५ मिनेट २३ सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा उपाधि विजेता, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० हजार, छ हजार, चार हजार र एक हजार रुपैयाँ साथमा प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा महिला तर्फ अनुसा श्रेष्ठ विजेता भईन् । उनले निधारीत दुरी ५८ मिनेट ५२ सेकेन्डमा पार गर्दै विजेता भएकी हुन् । उनले तीन हजार रुपैयाँको साथमा प्रमाण पत्र प्राप्त गरिन् ।
क्लबले आफ्नो बार्षिक कार्यक्रम अनुसार नयाँ बर्षको अवसरमा म्याराथन प्रतियोगिता आयोजना गरेको सचिव धिरज खत्रीले बताए । उनका अनुसार प्रतियोगितामा ६२ जना धावकहरु सहभागि भएर दौडिए । मिनि म्याराथन लिटल गार्डेन बोर्डिङ स्कुलबाट सुरु भएर दिवस माध्यमिक विद्यालयमा पुगेर समापन गरिएको थियो ।