खैरेनीटार । तनहुँको शुकलागण्डकी नगरपालिका–६ खैरेनीटारमा बिहीबारदेखी शुक्लागण्डकी महोत्सव सुरु भएको छ । ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटन प्रवद्धन, शुक्लागण्डकी महोत्सव, कला सिप र संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजना भएको उद्घाटन दिनमा शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका लगायतका विभिन्न क्षेत्रबाट विभिन्न जातजाती र सुमदायको कला सँस्कृती झल्काउने झाँकीले खैरेनीटार बजार परिक्रमा गरेर महोत्सव सुरु गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य केदार सिग्देलले महोत्सवले पर्यटन, कृषि र स्थानीय उत्पादनको संरक्षण र प्रबद्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनका अनुासर महोत्सव नगरबासीलाई दुख विसाउने स्थल रहनुका साथै एक आपसमा सुमधुर सम्बन्ध बिस्तार गर्दछ ।
नगर उद्योग बाणिज्य संघका अध्यक्ष विमल रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य आशा कोईराला, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाकी उप प्रमुख सबिता रसाईलि, नेपाली कांग्रेसका तनहुँ जिल्ला सभापति जितप्रकाश आले, नबिल बैक दुलेगौंडा शाखाका प्रमुख सुर्य रोका, नेपाल उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद पण्डित, शुक्लागण्डकीका नगर प्रवक्ता खिम कुमाल, वडाध्यक्ष कृष्णप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।
महोत्सव अवधिभर स्थानीय कला सँस्कृतिसँगै घरेलु तथा कृषि सामाग्रीको प्रर्दशनी, भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, तानडोरी प्रतियोगिता, नृत्य प्रतियोगिता,रत्यौलि प्रतियोगिता, दैनिक ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, लाइभ कन्सर्ट, दैनिक उपभोग्य बस्तुको खरिद तथा विक्री हुने आयोजकले बताएको छ ।