दुलेगौंडा । बर्ष दिनमा एकपटक आउने जन्मोत्सव मानिसहरुले आफ्ना परिवार र साथीहरुका बिच रमाईलो गरेर मनाउने प्रचलन बढ्दो छ । तर, यता तनहुँको शुक्लागण्डकी नगरपालिका–१० लोकदिटारका ३१ बर्षिय बिमल राना मगरले भने जन्मोत्सव मनाउने खर्च विद्यार्थीको सिकाईका निम्ति सदुपयोग गरेका छन् ।
बिमलले आफ्नो जन्म दिनको अवसरमा शुक्लागण्डकी नगरपालिका–१० मा डुटेपिपलमा रहेको पशुपति प्राविका १८ जना विद्याार्थी, खोरादिमा रहेको शुक्ला प्राविका ३६ जना र लोकादिटारमा रहेको सुर्य आधारभुत विद्यालयका १४९ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । साथै उनले विद्यार्थीहरुलाई खेल्नका निम्ति फुटबल, डोरी लगायतका खेलकुद सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
बिमल अहिले ३१ बर्षका भए । उनले यस अघि साथीभाई र घर परिवार बिचमा रमाईलो गरेर जन्मोत्सव मनाएको बताउछन् । तर, यस बर्ष विद्यार्थी र विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेर जनमोत्सव मनाउदाँ फरक अनुभुति भएको बताए । ‘यस अघि मैले मेरो जन्मदिनमा साथीभाई र घरपरिवारमा खानि, रमाईलो गर्ने गरेर मनाएको थिए । तर, यस बर्ष बाबालिकाहरुलाई जन्मदिन मनाउने पैसाले कपि, कलम दिदाँ उनिहरुको मुहारमा देखेको खुसीले मलाई झन धेरै खुसी मिलेको छ । यसले थप हौसला पनि मिलेको छ’ उनले भने ।