तनहुँ । पहाडी जिल्लामा आज धुमधामका साथ होली पर्व मनाइएको छ । बर्षभरीको बैरभाव बिर्सेर रंग अविर साट्ने, मिठोमसिनो खाने–खुवाउने गरेर होली पर्व मनाइएको हो ।
एक आपसमा सम्बन्ध बिग्रिएको भए पुराना कुरालाई बिर्सेर सम्बन्ध नवीकरण गर्ने अवसरका रुपमा पनि होलीलाई लिइन्छ । होली पर्वले साथीभाई, आफन्त बिच सुमधुर सम्बन्ध स्थापना गराउन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । परम्परागत भाकाका ‘होरी’ अर्थात होली बिशेष गीत संगीतबाट रमाइलो गरिएको थियो । होली पर्वमा एक अर्कासंग प्रेम र सद्भाव साट्ने प्रचलन छ ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले बिभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यो पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको जनविश्वास छ ।