दुलेगौँडा । लोकप्रिय युवा क्लब शुक्लागण्डकी–१० लोकदीटारले आयोजना गरेको गाउँ तथा वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ बाबियोडाँडा युवा क्लब र महिलातर्फ लेखनाथ भलिबल समुहले उचालेको छ ।
शुक्रबार भएको फाइनल खेलमा बाँबियोडाडाले आयोजक लोकप्रिय युवा क्लबलाई २–१ सेटको अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलो सेट बाबियोडाँडाले २६–२४ स्कोरमा जित दर्ता गरायो । दोस्रो सेटमा आयोजकले २५–२० को अन्तरले जित सुनिश्चित गरे पनि फाईनल सेटमा बाबियोडाँडाले आयोजकलाई २५–१४ को फराकिलो अन्तरले हराउदै उपाधि रक्षा गर्न सफल भएको हो ।
पुरुषतर्फको विजेता बाबियोडाँडाले नगद ४५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक लोकप्रियले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो भएको खोरादी युवा क्बबले १५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । पुरुषतर्फ १८ समुहको सहभागिता रहेको थियो ।
महिला तर्फको उपाधि लेखनाथ भलिबलल समुहले जितेको छ । लेखनाथले स्याङ्जा भलिबल समुहलाई २–० को सोझो सेटमा हराउदै जित सुनिश्चित गरेको हो । उपाधि विजेता लेखनाथ भलिबल समुहले नगद १५ हजार रुपैयाँ र उपविजेता स्याङ्जा भलिबल समुहले नगद आठ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र पाएको छ । महिलातर्फ सात समुहले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता ७ देखी १३ फागुनसम्म लोकदीटारमा चलेको थियो ।