ढोरर्फिर्दी । शुक्लागण्डकी नगरपालिका–८ बुद्धचोकमा महिलाहरुका लागि संञ्चालन गरिएको ६ दिने आयआर्जन तथा नेतृत्व विकास तालिम शनिबार सम्पन्न भएको छ । वडाका महिलाहरुलाई आय–आर्जन तथा नेतृत्व विकासको गर्न सिकाउने उद्धेश्यले वडा कार्यालयले तालिमको आयोजना गरेको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँकी सदस्य सरस्वती गौतमले तालिममा सिकेका ज्ञानलाई आयआजर्न हुने कार्यमा लागु गर्नुपर्नेमा जोड दिईन । गौतमका अनुसार वडाले अबको समयमा एक टोल एक उद्योग स्थापना गर्न आवश्यक रहेको बताईन । ‘वडाले नेतृत्वविकास तालिम धेरै नै संञ्चालन गरेको । यस वडामा तालिम नलिएका महिलाहरुलाई औंलामा गन्न सकिने अवस्था छ । अब वडाले तालिम संगै एउटा टोलमा एउटा उद्योग स्थापना गर्नु आवश्यक छ । यस्तो उद्योग, जुन दैनिक आवश्यकता पर्ने वस्तुहरु उत्पादन गर्नका लागि होस्’उनले भनिन् ।
तालिमको समापन कार्यक्रममा तालिम लिएका महिलाहरु मध्यबाटै कार्यक्रमको संञ्चालन गरेका थिए । तालिम अवधिभर प्रशिक्षकले ४ समुह बनाई आय–आर्जन तथा नेतृत्व विकासको तालिम दिएको थियो । जहाँ बिष्णु थापाको समुह प्रथम, सुस्मिता गैह्रेको समुह द्धितीय, चित्रकुमारी भुजेलको समुह तृतीय र लक्ष्मी ढुंगानाको समुह सान्तवना भएको थियो । माघ २४ गतेदेखि २९ गते ( आज शनिबार) सम्म संञ्चालन भएको तालिम ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।
शुक्लागण्डकी नगरपालिका– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीको सभापतित्वमा सम्पनन कार्यक्रममा टोल अध्यक्ष क्या. दीपक क्षेत्री, नगर प्रमुखका सचिवालय प्रमुख सुरेनद्र सेन ठकुुरी, वडा सचिव इन्द्रप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो भने रेडियो ढोरबाराहीका स्टेशन म्यानेजर राजकुमार आले र ममता गुरुङले तालिममा मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।