दुलेगौंडा । पछिल्लो समय सामुदायिक विद्यालयले विभिन्न बाहाना बनाई विद्यार्थी तथा अभिभावकबाट मनोमानि ढंगले चर्काे शुल्क असुल्ने गरेको खबर बाहिरिन थालेको छ । यसरी शैक्षिक क्षेत्रमा भएको विकृतिलाई रोक्न नेपाल विद्यार्थी संघ शुक्लागण्डकीले नगर शिक्षा शाखालाई ध्यानाकर्षण गर्दै प्रेश विज्ञप्ती जारी गरेको छ ।
नगरपालिका भित्रका प्राय सामुदायिक विद्यालयहरुले गौरकानुनी रुपबाट चर्काे शुल्क असुल गरेको र निजी विद्यालयहरुले पनि सरकारले तोकेको मापदण्ड पालना नगरेको हुदाँ यसलाई सुधार गर्न विज्ञप्ती जारी गरेको नगर सभापति चित्रकान्त गौतमले जानकारी दिए । गौतमका अनुसार विद्यालयहरुले विद्यार्थीहरुलाई अन्य अतिरिक्त कक्षा संञ्चालन गरि मनोमानि ढंगले चर्काे शुल्क लिने, चारित्रिक प्रमाणपत्रको शुल्क नियमभन्दा बढी लिने, गौरकानुनि ढंगले चन्दा संकलन गर्ने, सरकारी विद्यालयको स्रोत र साधन प्रयोग गरेर अङ्ग्रेजी माध्यमका नाउँमा जथाभावि शुल्क लिने गरेको छ ।
विद्यालयले विभिन्न समस्या देखाएर अभिभावकबाट शुल्क लिन नहुने बताएका छन् । आफुहरुलाई विद्यार्थी तथा अभिभावकबाट गुनासोहरु आउन थालेपछि नगरपालिकाले ध्यानाकर्षण गराएको उनको भनाई छ । ‘अहिले हामीले भएका समस्या रोक्नका लागि पहिलो चरणमा शिक्षा शाखालाई ध्यानाकर्षण गर्दै यो विज्ञप्ती जारी ग¥र्यौ । अब नगरपालिकाले यसलाई कसरी लिन्छ भन्ने हो । हामीले यसरी ध्यानकर्षण गराउदा पनि नगरले शैक्षिक क्षेत्रको विकृति हटाउन सकेन भने हामी संगठनपूर्ण तरिकाले अगाडी बढ्छौ’, नगर सभापति गौतमले भने ।
बुधबार संघका नगर सभापति गौतम लगायत नेवि संघ क्षेत्रीय सभापति मदन श्रेष्ठ, नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका सह–सचिव भीष्म श्रेष्ठ, शहिद कृष्ण क्याम्पसका सभापति शिर्षक भट्टराई, नेवि संघका नेता युनिक लम्साल, सुरज लम्साल र सुनिल तिमिलसेनाले शिक्षा शाखाका प्रमुख नवराज चापागाईलाई ध्यानाकर्षण गर्दै प्रेश विज्ञप्ती हस्तान्तरण गरेका थिए।
नेवि संघले जारी गरेको प्रेस विज्ञप्ती ।