दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा भ्याली युथ क्लबले ल्होसार पर्वको अवसर पारि दोस्रो ल्होसार कप २०७८ सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता संञ्चालन गर्नका लागि आयोजकले खेलमैदान व्यवस्थापन, प्रचार प्रसार लगायतका कार्यहरु गरीरहेको छ । यसै बिच क्लबले यस बर्ष पहिलो पटक खेलमा सहभागी हुने खेलाडीको सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।
खेल दौरानको क्रममा हुनसक्ने सम्भावित जोखिम बहन गर्ने उद्धेश्यले खेलाडीहरुको बीमा गराइएको क्लबका अध्यक्ष सुवास शाही ठकुरीले जानकारी दिए । उनका अनुसार खेलाडीको बीमा गर्नु क्लबको दायित्व रहेको छ । ‘खेलाडीहरु क्लबका लागि ज्यान दिएर खेलेका हुन्छन्, यो बेला घट्ना दुर्घट्ना नहोला भन्न सकिन्न । त्यसैले हुन सक्ने जोखिमबाट पहिल्यै सुरक्षित रहनुपर्छ भनेर दुर्घटना बीमा गरिएको हो ।’
खेलाडीको दुर्घट्ना बीमा गर्नको लागि नेको इन्स्योरेन्स कम्पनी दुलेगौँडा शाखाका प्रमुख सुरज लम्साल र क्लबका अध्यक्ष ठकुरीबीच सम्झौता भएको छ । खेल सञ्चालनका क्रममा खेलाडी दुर्घटना भएमा एक लाखसम्मको बीमा गरिएको हो । दुर्घटनाका कारणले औषधोपचार गर्न परेमा बिमाङ्क रकमको १० प्रतिशतको दरले १० हजारसम्मको औषधोपचार खर्च लिन सकिने इन्स्योरेन्स शाखा प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार यो सम्झौता एक बर्षसम्मका लागि लागु हुने छ । यस अवधिमा खेल बाहेक अन्य कुनै पनि घट्ना, दुर्घट्नामा परी मृत्यु वा अङ्ग–भङ्ग भई अशक्त भएको खण्डमा बीमा भुक्तानीका लागि दाबी गर्न सकिनेछ ।