बेलचौतार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले शैक्षिक क्षेत्रमा कुपात्रले नजर लगाउदैमा संस्थाको विकास नरोकिने बताएका छन् । सोमबार भानुभक्त बहुमुखी क्याम्पसको ३५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उक्त वक्तव्य दिएका हुन् ।
मन्त्री श्रेष्ठले क्याम्पसमा रहेको विद्यार्थी संगठनहरुको काम नै शैक्षिक क्षेत्रमा राजनीति गर्ने रहेको हुदाँ उक्त कार्य रोक्न निर्देशन दिएका छन् । ‘यस्ता कुपात्रहरुले दृष्टि नलगाउँदैमा यो क्याम्पसको भविष्य तलमाथि हुने होइन । शैक्षिक क्षेत्रमा पनि राजनीतिकरण गर्ने उहाँहरु (एमाले नेता कार्यकर्ता) को पेसा हो । यसमा कुनै चित्त दुखाई छैन’ उनले भने ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले देशको भविष्य र सफलता अहिलेका विद्यार्थीसंग जोडिएको बताए । साथै उनले व्यवहारमा काम नलाग्ने शिक्षालाई हटाउदै प्राविधिक शिक्षालाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष प्रा. डा. चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका तनहुँ अध्यक्ष शंकरनारायण श्रेष्ठ, वडा नं १२ का वडाध्यक्ष मनराज गुरुङ, नेपाली काँग्रेस तनहुँ क्षेत्र नं २ का क्षेत्रिय सचिव सन्तोष घिमिरे, क्याम्पस संचालक समितिका सदस्य मोहनबहादुर थापा, कोषाध्यक्ष दुर्गाकुमार श्रेष्ठ, अनेरास्ववियु सचिवालय सदस्य सुसन पौडेल, अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष सुरेश पौडेल, नेवि संघका अध्यक्ष रोशन बस्याल, अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष विनिता भण्डारी लगायतले बोलेका थिए । साथै उक्त समारोहका बिच वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।