खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा वडास्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आज (शुक्रबार)देखि लाङ्घाली मगर समाजले प्रथम लाङ्घाली मगर समाज एकान्त कुना भलिबल कप–२०७८ सुरु गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिका–१० ले भिमाद नगरपालिका–१ लाई ३–० को सोझो सेटमा पराजित गरेको छ । २५–१८, २५–२१ र २५–२० को स्कोरमा पराजित गर्दै शुक्लागण्डकी नगरपालिका–१० दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।
यस्तै गरि आजै भएको दोस्रो खेलमा भिमाद नगरपालिका–९ ले शुक्लागण्डकी नगरपालिका–६ लाई ३–१ को सेटमा पराजित गर्दै विजयी भएको छ । प्रतियोगिताको पहिलो सेटमा शुक्लागण्डकी–६ ले भिमादलाई २५–२२ को अन्तरले पराजित गरे पनि त्यस पछिका क्रमश तीन खेलमा भिमाद–९ ले २५–१८, २६–२४ र २८–२६ को सेटमा जित निकालेको हो ।
प्रतियोगितामा तनहुँसँगै स्याङजा र नवलपुरका १२ समुह सहभागि छन् । विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र चौथो हुने समुहले क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताभरी शुक्ला न्यूजले आफ्नो फेसबुक पेजबाट प्रत्येक्ष प्रशारण गर्ने भएको छ ।