दुलेगौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले दुलेगौँडा–हर्कपुर मोटर माग काम नगर्ने ठेकेदारलाई थुन्ने चेतावनी दिएका छन् । आज शुक्लागण्डकी नगरपालिका–३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दाै लामो समयदेखी अलपत्र परेको बाटो बिषयमा बोल्दै काम नगर्ने ठेकेदारलाई थुन्ने चेतावनी दिएका हुन् ।
श्रेष्ठले अहिलेसम्म ठेकेदार जतिदिन लुकेर भागे पनि अब कृष्ण श्रेष्ठको फेला परेको भन्दै काम नगरी सुख्खै नहुने बताए । ‘किसान श्रेष्ठ जे बोल्छ, गर्न सक्ने मात्रै बोल्छ, बोलेपछि गर्छ भन्ने कुरा विश्वास दिलाउन चाहान्छु, यो बाटो कालापत्रेको जिम्मा एकिकृत समाजवादीले लिन्छ, किसान श्रेष्ठले लिन्छ’, उनले भने । कार्यक्रममा बोल्दै श्रेष्ठले युवा शक्तिलाई रोजगारीको अवसर सिर्जना गरि देशमा नै स्वरोजगारीको आवसर सिर्जना गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको वेवास्ताका कारण मोटरमार्गको काम ढिलाई भएको बताईन् । उनका अनुसार बाटो बनाउने विषयमा स्थानीय जनता जागरुप हुनुपर्ने छ । ‘कसैले मेरो जग्गा मिचियो भनेर बाटो बनाउन रोक्दिने, कसैले मेरो गिटी बालुवा किनेन भनेर कामदार रोक्दिने, कसैले पैसा पाइन भनेर कामदार फिर्ता गराइदिने जस्ता यहाँ यावद कुराहरु भएका छन् । यस्ता विषयहरुमा जनताको चासो र खबरदारी गर्नुपर्दछ’, उनले भनिन् ।
वडाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य रेखा बस्याल थापा, पार्टीका तनहुँ इन्जार्च चित्रबहादुर थापा, व्यास नगरपालिकाका ४ का वडाध्यक्ष विश्वराज न्यौपाने, नेपाली काँग्रेस शुक्लागण्डकीका सभापति गोपीबहादुर गुरुङ, जनता समाजवादी पार्टी शुक्लागण्डकी नगर समितिका अध्यक्ष देउनारायण श्रेष्ठ , वडा सदस्य विष्णु गतौला, वडासचिव शालिकराम भट्टराई लगायतले बोलेका थिए ।