गाछेपानी । जन्मदै मिर्गौलामा समस्या देखिएका दुई महिने शिशु प्रशान्त विकको उपचारमा सघाउन शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका महिलाहरुले देउसीरेबाट उठेको रकम सहयोग गरेका छन् । समुहले आज शिशुका फुपु कल्पना विकलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
समुहकी सदस्य सन्तुमाया ढुङ्गानाले शिशुको उपचारमा सघाउनको लागि देउसी भैलोबाट उठेको रकम सहयोग गरेको बताईन् । “तिहारमा साथीसंगी विच रमाईलो गर्ने उदेश्यले सानो समूहमा भैलो खेलेका थियौं, थोरै रकम उठेको भएपनि बाबुको उपचारमा हातेमालो गर्न सहयोग गरेका हो” उनले भनिन् ।
दैलेख घर भई तनहुँ दुलेगौंडामा ज्याला मजदुरी गरी बस्दै आएका तपेन्द्र विक र शान्ता वि.कका छोरा प्रशान्तको मृगौला सुन्निएको र पिशाव नली साँघुरो रहेको फुपु कल्पना विकले बताईन् । वि.क परिवारका अनुसार गर्भावस्थादेखिनै शिशुको मृगौला र पिशाव नलीमा समस्या भएको चिकित्सकले बताएका थिए ।
उपचार गर्ने पैसा नभएपछि चिन्तामा रहेका वि.क परिवारलाई अहिले भने सहयोग आउने क्रम शुरु भएको छ । नेपालीप्पे नामक जर्मन संस्थाले ५० हजार रुपैयाँ सहयोग गरेपछि उपचारका लागि शिशुलाई काठमाण्डौ स्थित कान्ति बाल अस्पताल पठाईएको स्थानीय गोमा श्रेष्ठले बताईन् ।
छोरा बिरामी जन्मिएपछि दिनभरी कमाएर साँझ विहानको गुजारा चलाउँदै आएका वि.क परिवारको दैनिकि प्रभावित बनेको छ । छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनीहरुले सबैसंग अनुरोध गरेका छन् ।