दुलेगौँडा– लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल दमौली शाखाले विमितको मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्वर्गीय प्रेमचन्द्र पुनको परिवारलाई मुत्यु दाबी भुक्तानी गरिएको हो ।
पुनको श्रीमति चममायालाई एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठ र दमौली शाखा प्रमुख सुती ज्ञवालीले २३ लाख १ हजार १ सय ९० रुपैयाँ भुक्तानी गरेका हुन् । पुनको गत जेठ २० गते ४५ बर्षको उमेरमा निधन भएको थियो । उनले एलआईसीमा २० लाख ५० हजार रुपैयाँको जिवन विमा गरेका थिए । दुई किस्तामा दुई लाख ९७ हजार ४४ रुपैयाँ कम्पनीलाई भुक्तानी गरेका थिए । स्वर्गिय पुनको जीवन विमा ईन्स्योरेन्सका अधिकर्ता मालति रानाले गराएकी थिईन ।
कार्यक्रममा बोल्दै एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठले जिवन विमाले मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सहज हुने बताए । उनका अनुसार व्यक्तिले कमाएको ३० देखी ३० प्रतिशत सम्म विमामा लगानि गर्दा राम्रो हुन्छ । ‘बिमा सबैको लागि आवश्यक हुन्छ । तर, बच्चाको विमा गर्नुभन्दा पनि घर मुलिको विमा गर्नु राम्रो हुन्छ । यसले गर्दा घरको मुल सदस्यलाई केही भएमा अन्य सदस्यहरुले राहात पाउनेछन्’, उनले भने ।