खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित सिसौघारीमा नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । शुक्रबार शुक्लागण्डकी नगरपालिका उपमेयर सविता रसाइलीले भवनको उद्घाटन गरेकी हुन् । स्वास्थ्य सेवा केन्द्रले विगतमा भाडाको भवनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको थियो । गत भाद्र २५ गतेबाट भवन प्रयोगमा आइसकेको भएपनि शुक्रबार औपचारिक उद्घाटन गरिएको हो ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर रसाइलीले स्वास्थ्य केन्द्रको संरक्षण एवं विकासमा स्थानीय जनताको बढी चासो हुनुपर्नेमा जोड दिईन् । साथै उक्त स्वास्थ्य केन्द्र स्थानीयहरुको लागि सहज रुपमा आधारभुत स्वास्थ्य सुविधा लिने स्थल बनेको बताईन् । उनका अनुसार भौगोलिक हिसाबले स्वास्थ्य केन्द्र वडाको केन्द्रविन्दुमा भएपनि अलि एकान्त स्थानमा भएकाले वडावासीको सहज पहुँचका लागि प्रयासरत रहने छ ।
वडाध्यक्ष रामबहादुर क्षेत्री थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य विष्णुमाया ढकाल, वडा सदस्य गिरबहादुर थापा, नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका सदस्य बिमल जि.सी भुजेल, नेपाली काँग्रेस ७ नं वडा समितिका सभापति इश्वर शर्मा, सरस्वती नमुना विद्यालयका प्रधानाध्यापक नारायण पौडेल, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य सुजित हिराचन, महिला स्वास्थ्य स्वयमसेविका सुर्यदेवी भट्टराई ,तल्लो भोटेपानी टोल विकास संस्थाका अध्यक्ष पितम थापा मगर, समाज सुधार आमा समुहकी संस्थापक सचिव लक्ष्मी घिमिरे, स्वास्थ्य केन्द्रका प्रमुख मनिष श्रेष्ठ,वडा सचिव महेन्द्र घिमिरे लगायतले बोलेका थिए । सो अवसरमा वडाभित्र रहेका विद्यालयहरुलाई प्राथमिक उपचारका लागि आवश्यक औषधीसहितको बक्स हस्तान्तरण गरिएको थियो । नगरपालिकाको वडा नं २, ५, ६, ८ र ९ मा स्वास्थ्य केन्द्र भवन निमार्ण सम्पन्न भई सेवा दिइरहेको छ भने वडा नं १० मा जग्गा अभावमा भवन निर्माण हुन सकेको छैन ।