दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य सुरक्षाको आधारस्तम्भ खोप अभियानलाई सफल बनाउँदै शुक्लागण्डकी नगरपालिकालाई “पूर्ण खोप नगर” घोषणा गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले जनताको स्वास्थ्यलाई सुदृण गर्नका लागि खोप अभियान अपरिहार्य रहेको बताए । नगरपालिकाले राष्ट्रिय खोप तालिका अनुसार नागरिकले पाउनुपर्ने सबै खोप उपलब्ध गराएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालीका घोषणा गर्न सफल भएको बताए । साथै उनले पूर्णखोप पालिका बनाउन खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, संघ–संस्था, समाजसेवी, सञ्चारकर्मी, सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गरे ।

वडास्तरबाट तथ्याङ्क सङ्कलन गरी खोप आवश्यक पर्ने सबै नागरीकलाई खोप प्रदान गरेसंगै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालीका घोषणा गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख डिबि थापा मगरले बताए । चैत महिनालाई घरधूरी सर्वेक्षण अभियान बनाएर बैशाखामा खोप अभियान चलाइएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए । उनका अनुसार शुक्लागण्डकीका ५६१ जनलाई खोप दिइएको थियो ।
‘हामीले सुरुमा १५ मनिाभित्रका बालबालिकालाई खोप लगायौ, १५ महिनाभित्र खोप लगाउन छुटेकालाई २४ महिना भित्र खोप लगायौ । यति हुदाँ पनि छुटेका बालबालिकालाई २ बर्षदेखि ५ बर्ष उमेरका बालबालिका पहिचान गरी खोप लगायौं । अन्तिममा ८ जना बालबालिका खोप लगाउनबाट छुटेको हुदाँ हामीले उनीहरुको पनि पहिचान गरी खोप लगाउन सफल भयौं, यसरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालीका घोषणा गर्न सफल भयौं’ स्वास्थ्य शाखा प्रमुख थापाले भने ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालीका घोषणा कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुमबहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।