दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका ३ नम्बर वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३५२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । दिवस माध्यमिक विद्यालय प्राङ्गाणमा भएको उक्त शिविरमा विशेषज्ञ डाक्टर सहितको टोलिले स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले दैनिक रुपमा उपभोग गर्ने अस्वस्थकर खानेकुराले मानव शरिरमा प्रत्यक्ष प्रभाव पारेको बताए । उनले स्वस्थ जीवनशैली अपनाउन कम्तिमा पनि आफ्नो परिवारलाई चाहिने तरकारी आफ्नौ वातावरणमा उत्पादन गरी उपभोग गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै डा.बुद्धिबहादुर थापाले आफु जन्मेको गाउँमा प्रत्येक बर्ष स्वास्थ्य शिविरको कार्यक्रम गर्ने बताए । साथै उनले आफू जन्मेको गाउँ र आफ्नो माता पितालाई कहिल्यै नबिर्षन आग्रह गरे ।
शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष सचिन भुजेलले ग्रामिण भेगमा मानिसहरु स्वास्थ्य सेवा र सुविधाका पहुँचभन्दा टाढा रहनुका साथै समस्या व्यक्ति नगर्द सामान्य रोगले पनि जटिल समस्या निम्त्याएको हुदाँ शिविर सञ्चालन गरिएको बताए ।
फेवा सिटी अस्पताल र अमर पोलिक्लिनिक पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा बरिष्ठ फिजिसियन डाक्टर बुद्धिबहादुर थापाको नेतृत्वमा १८ जना विशेषज्ञ डाक्टरहरुले स्थानीयको स्वास्थ्य जाँच गरेका थिए।