दुलेगौंडा । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले शुक्लागण्डकीमा बसाेबास गरेका मुस्लिम समुदायका नागरिकलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् । मुस्लिम समुदायको पवित्र चाड रमजानको अवसरमा राेजेदार अर्थात व्रत बसेका २० जनालाई खाद्यान्न सहयोग गरेका हुन् ।
पुर्व प्रतिनिधि सभा सांसद कलिला खातुनको पहलमा उक्त खाद्यान्न सामग्री वितरण गरिएको हाे ।
चाडपर्व हर्षाेउल्लासका साथ मनाउन र सामाजिक भावनाकाे विकास गर्नका निम्ति खाद्यान्न सामग्री वितरण गरिएको युएईका राजदुत अब्दुला अल शम्सीले बताए । साथै उनले सम्पूर्ण मुस्लिम समुदायका व्यक्तिलाई रमजानकाे शुभकामना पनि व्यक्त गरेका छन् ।
एक महिनासम्म मनाइने रमजान पर्व सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ ।