खैरेनीटार । खैरेनी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । नेपालहिल्फे वाईलंग्रीस जर्मनको आर्थिक सहयोग निर्मित भवनको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित र जर्मनी संस्थाका अध्यक्ष मानफ्रेड लिन्डरले संयुक्त रूपमा गरेका हुन् ।
विद्यार्थी र शिक्षा हरेक देशको भविष्य निर्धारणको प्रमुख आधार भएको नेपालहिल्फे वाईलंग्रीस जर्मनका अध्यक्ष मानफ्रेड लिन्डरले बताए । साथै उनले नवनिर्मित भवनको संरक्षण र प्रयोगमा विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका नगरप्रमुख कृष्णराज पण्डितले नेपालहिल्फे वाईलंग्रीसले निर्माण गरिदिएको भवनको व्यवस्थापन खर्च स्थानीय सरकारबाट गरिदिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोमलमोहन घिमिरेको सभापतित्वमा सम्पनन कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक(राजु), वडा नं. ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरेले गरेका थिए ।
२०८० साल माघ महिनाबाट निर्माण थालनि भएको भवन निर्माण कार्य सम्पन्न गरी जर्मनि संस्थाले विद्यालयलाई हस्तान्तरण गरेको छ । करिब २ कारोड लागतमा निर्माण भएको भवनमा ८ कक्षाकोठा, शौचालय सहितको चेन्जिङ्ग कोठा रहेको विद्यालयका सूचना अधिकारी राजकुमार भुजेलले बताए । भवनको उद्घाटन कार्यक्रममा नेपालहिल्फे वाईलंग्रीसलाई पञ्चेवाजा सहित विद्यार्थी, शिक्षक र जनप्रतिनिधिले स्वागत गरेका थिए भने कार्यक्रममा नेपालको संस्कार, संस्कृति र सभ्यता झल्कने किसिमका गीतमार्फत स्वागत नृत्य गरेका थिए ।