दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्उवन धामले आयाेजना गरेको खुला भजन कीर्तन प्रतियोगिताकाे उपाधि माछापुच्छ्रे सेवा समाज हेम्जाले हात पारेको छ । प्रतियोगितामा सहभागी ८ समूहलाई पछाडि पार्दै हेम्जा प्रथम भएको हाे । जितसंगै हेम्जाले नगद ५१ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा प्रतियोगितामा भुलभुले बाराही भजन समूह द्वितीय, महेश्वर खनाल भजन समूह काेत्रे तृतीय र राधाकृष्ण भजन समूह सान्त्वना भएको छ । प्रतियोगिता द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३६ हजार, २१ हजार र ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
माैलिक भजन किर्तनकाे जगेर्ना गर्ने उदेश्यले प्रतियोगिता आयाेजना गरिएकाे धाम कार्यसमितिका अध्यक्ष हाेमनाथ लम्सालले बताए । प्रतियाेगितामा बरिष्ठ लाेक दाेहाेरी गायक पुरूषाेत्तम न्याैपाने, राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर, राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठानका उपाध्यक्ष भाेला भण्डारी र भजन गायक दिनेश बलम्पाकी मगर निर्णायककाे भुमिकामा थिए ।